तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा जेन-जीको प्रदर्शन: २३ जना घाइते, शैक्षिक संस्था बन्दको घोषणा

चितवन । चितवनमा सोमबार जेन-जीले आह्वान गरेको प्रदर्शनका क्रममा २३ जना घाइते भएका छन् ।

सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रदर्शनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । घाइतेहरूको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रूग्यास प्रहार गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुरमा दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको अर्यालले बताउनुभयो ।

महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको उहाँले बताउनुभयो । अश्रुग्याँस प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेको उहाँले बताउनुभयो । प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रदर्शन गरेका थिए । अहिले पनि यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अर्यालले आज पनि परिस्थिति हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कर्फ्यु समेत लगाइने उहाँको भनाई  छ । यो सँगै शैक्षिक संस्थाका सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते चितवनका सम्पुर्ण शिक्षण संस्था बन्द हुने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button