पोखराका मुख्य सहरी क्षेत्रमा कर्फ्यू जारी
कास्की I जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा कर्फ्यू जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित आदेशअनुसार आज बिहान १० बजेदेखि राति १०बजेसम्मका लागि लागू हुने गरी यो प्रतिबन्ध लगाइएको हो।

विशेष गरी पोखराका संवेदनशील मानिएका चार किल्लाभित्र कुनै पनि आवतजावतका साथै भेला, जुलुस, प्रदर्शन, सभा र बैठक गर्न निषेध गरिएको छ। यो आदेशको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
निषेधित क्षेत्रहरू पूर्वतर्फ पोखरा महानगरपालिका स्थित चाइना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै बिरौटा चोक र पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै केआई सिंह पुलसम्मको क्षेत्र । पश्चिमतर्फ पोखरा महानगरपालिका वडा नं ०२ स्थित बागलुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म
उत्तरतर्फ पोखरा महानगरपालिका वडा नं ०१ स्थित पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सी चोक हुँदै बागलुङ बसपार्कसम्मको क्षेत्र।
दक्षिणतर्फ पोखरा महानगरपालिका वडा नं ०६ स्थित हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै बिरौटासम्मको क्षेत्र।
यसअघि पनि निषेधाज्ञा जारी गरिएकोमा यसपटक त्यसलाई थप कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न र कुनै पनि सम्भावित झडप वा अप्रिय घटनालाई रोक्न यो कदम चालेको बताएको छ।







प्रतिक्रिया राख्नुहोस्