धनुषामा असोजको पहिलो साता तेस्रो सर्प महोत्सव हुने

जनकपुरधाम । सर्पको महत्वका विषयमा जानकारी दिने उद्देश्यले मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लामा असोजको पहिलो सातामा सर्प महोत्सव हुने भएको छ ।
मानव र सर्प बीचको सह–अस्तित्व रक्षाका लागि आयोजना हुने तेस्रो सर्प महोत्सव सोज २ र ३ गते आयोजना हुने मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष एवं प्रकृति संरक्षण अभियानी देवनारायण मण्डलले जानकारी दिनु भयो ।
धनुषाको मिथिला विहारी नगरपालिकामा हुने महोत्सवमा नेपालमा पाईने सर्पको किसिम, सर्पले टोकेपछिको उपचार सहितको विषयमा सर्वसाधारणलाई जानकारी दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अहिले नेपालमा ८० देखि ९० प्रजातिका सर्पहरू पाईने गरेका छन् ।
सेभ द लाईभ्सका अध्यक्ष कमदेव देवकोटाले नेपालमा पाईने सर्प मध्ये धेरै विषालु सर्पहरूको बसोबास तराई मधेशका जिल्लाहरूमा रहेको कारणले महोत्सव तराई केन्द्रित रहेको छ । तेस्रो पटक आयोजना हुनलागेको सर्प महोत्सवले सर्प मानव तथा प्रकृतिका लागि आवश्यक रहेको छ भन्ने सन्देश दिने देवकोटाले जानकारी दिनु भयो ।
यस अघिको दुई वटा सर्प महोत्सव क्रमशः २०८० भाद्र ३ र ४ गते गण्डकी प्रदेशको नवलपरासी जिल्लाको कावासोतीमा र दोस्रो २०८१ सालको असोज १ र २ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा सम्पन्न भइसकेको छ ।
नेपालका २६ जिल्ला सर्पदंशवाट अति नै प्रभावित जिल्लाको रुपमा रहेको छ । सर्प दंशका कारणले वर्षेनी रुपमा धेरै मान्छेको मृत्यु हुने गरेको छ । सर्पले टोकेपछि उचित उपचारमा नगएर धामी झाँक्रीमा जाने र उपचारमा ढिलाई गर्ने गरेका कारणले मृत्यु हुने गरेको छ । यस विषयमा सर्वसाधारणलाई जानकारी दिनका लागि महोत्सव सहयोगी हुने विश्वास आयोजकको रहेको छ ।
महोत्सवका आकर्षणको रुपमा विभिन्न प्रकारका सचेतनामूलक स्टलहरू रहने, डकुमेन्ट्री प्रदर्शन गर्ने, पेस्टर प्रस्तुति, फोटो प्रदर्शनी, सांस्कृतिक नृत्य, सर्प सङ्ग्रहालय नमूना प्रदर्शन, सर्प समाउने र उद्धार गर्ने तरिका प्रदर्शन, कला प्रदर्शनी र नेचर वाल्क रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्