तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतका चार पालिकामा ५२ प्रकारका सङ्क्रामक रोग निगरानी प्रणाली लागू गरिँदै 

सुर्खेत । सुर्खेतका चार पालिकामा सङ्क्रामक रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत सुर्खेतका पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाभित्र ५२ प्रकारका सङ्क्रामक रोगहरूको सूक्ष्म निगरानी गरिने भएको हो । 

सङ्क्रामक रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू गर्नका लागि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक डा.जनक थापाबिच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.खड्काले समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य सङ्क्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले पहिलो चरणमा जिल्लाका चार पालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनभयो । 

उहाँले कुनै पनि प्रकारका सङ्क्रामक रोगहरू देखा परेपछि नजिकको स्वास्थ्य चौकी वा हेलो स्वास्थ्यको १११५ मा सूचना प्रवाह गर्न सबै नागरिकलाई सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाउनुभयो । 

पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक थापाले रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका २२ जिल्लाका ४४ वटा स्थानीय तहका ६ सय २२ वटा वडामा यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

यो कार्यक्रम लागु हुने सुर्खेतका चार पालिकाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल समूह, विद्यालय नर्स, शिक्षक, नीजि फार्मेसी सञ्चालक, जनप्रतिनिधि र सुरक्षाकर्मी वीच अभिमुखीकरण गरिने पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर सुर्खेत कार्यक्रम अधिकृत सविता बुढाथोकीले जानकारी दिनुभयो । 

यो कार्यक्रम सुर्खेतमा २०८३ पुस मसान्तसम्म सञ्चालन हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button