नेपालगन्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले घाइते र अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख अच्युत गौतमका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका वा कमजोर, रोगी जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने बताइएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले एम्बुलेन्सले पशुको उद्धार र व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालगन्जमा सडक र गल्लीमा गाई, साढे, खच्चर, गधा, सुँगुर र कुकुरजस्ता छाडा चौपाया दीर्घकालीन समस्या बनेका छन् । सीमा पारी भारतको रुपैडिहालगायत क्षेत्रबाट समेत सयौँ पशु नेपालगन्जमा धपाइने भएकाले समस्या थपिएको उपमहानगरले जनाएको छ ।
समय–समयमा प्रहरी र उपमहानगरको टोलीले छाडा चौपायालाई काञ्जी हाउस पुर्याउँदै आए पनि बजार क्षेत्रमा फेरि थपिने क्रम नरोकिएको काञ्जी हाउस शाखाका पवन कनौजियाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्