तपाईँ सुन्दै हुनुहुन्छः

संविधानमा भएका कमी कमजोरी हटाउन संशोधन जरुरी : जसपा अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा भएका कमी कमजोरी हटाउनका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ ।

oplus_2

तराई मधेश लोकतान्त्रिक पार्टीको संयोजनमा सङ्घीय लोकतान्त्रिक मोर्चाले आज जनकपुरधाममा आयोजना गरेको वर्तमान राजनीतिक अवस्था–जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले वर्तमान संविधानको ठुलो उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी पहिचान दिए पनि सबै क्षेत्र तथा भूगोलका नागरिकमा भावनात्मक एकता जागृत गराउन पनि संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।  

उहाँले मधेशको माग तथा एजेन्डाको सम्बोधन गराउनका लागि एक पार्टी, एक झन्डामा गोलबद्ध हुनका लागि मोर्चा घटक नेताहरूलाई आह्वान गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशी, आदिवासी तथा जनजातिको समग्र विकास नभएसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभयो ।

उहाँले मधेश प्रदेशमा अहिले आएको सुख्खा तथा खडेरीको प्रमुख कारणको रूपमा चुरेको विनाश भएको बताउँदै अहिले आएको भूमिसम्बन्धी विधेयक पारित भएको खण्डमा यसले मधेशमा भएका वनजंगल समाप्त हुने दाबी गर्नुभयो ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संवैधानिक निकायहरूमा पछिल्लो समयमा हुने गरेका हरेक नियुक्तिमा मधेशी, आदिवासी, जनजाति तथा थारुको सहभागितालाई नकार्ने गरिएको गुनासो गर्नुभयो । 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले उत्पीडित जनता तथा क्षेत्रका नागरिकको हितमा काम गर्नका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको बताउँदै पार्टी भिन्न भए पनि नीति तथा सिद्धान्त समान हुनु पर्ने धारणा राख्नुभयो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले उत्पीडित तथा शोसित जनताको मुक्तिका लागि संविधानलाई अझै जनमुखी बनाउनका लागि संशोधन जरुरी रहेको बताउनुभयो ।

तमलोपा धनुषाका जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभाका सदस्य उर्मिला सिंह, लोसपाका प्रवक्ता डा. आभास लाभ, जसपाका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, लोसपाका नेता परमेश्वर साह लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button