तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी

काठमाडौँ I निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभाग र नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा आज विशेष हुलाक टिकट प्रदर्शनीको आयोजना गरिएको छ ।

आज साँझ ५ बजेसम्म हुने प्रदर्शनीको शुभारम्भ गर्नुहुर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती कर्मचारीहरूले समर्पित भएर सेवाभाव मार्फत आफ्नो कार्यालय र पदको छवि उच्च बनाउनुपर्नेमा जोड दिनुभयो । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक टिकट चिठीमार्फत सञ्चारको पहिलो स्रोत मात्र नभई यसले बौद्धिक सम्पत्ति, सांस्कृतिक अधिकार र विश्वमै ‘नबोल्ने राजदूत’को रूपमा कार्य गर्ने जानकारी दिनुभयो ।

नेपाल फिलाटेलिक सोसाइटीका पूर्व अध्यक्ष केदार प्रधानले सरकारी कार्यालयमा टिकटको औपचारिकता अझै रहेको तथा नेपालले अन्तर्राष्ट्रिय हुलाक टिकट प्रदर्शनीमा प्राय उच्चस्तरीय स्वर्ण पदकहरू प्राप्त गर्ने गरेको बताउनुभयो । 

प्रदर्शनीमा रेडियो नेपालको हिरक महोत्सवको अवसरमा प्रकाशित टिकट, अनौठा टिकट, विभिन्न क्षेत्रमा पहिलो भएका महिलाहरूको आवरण, वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशेष दिन र वर्षलाई समेट्ने, विभिन्न देशका टिकट, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएका छन् ।

सम्बन्धित हुलाक टिकटहरू प्रदर्शन गर्ने १२ जना नेपाल फिलाटेलिक सोसाइटीका सदस्यहरूमा मिलन चन्द्र जोशी, प्रदीप बज्राचार्य, किशोर शर्मा, सागर भूषाल, सरु श्रेष्ठ, रिडिमा शाक्य, सायरा खड्का, दिपेन्द्र रत्न शाक्य, दिनेश आचार्य, केदार प्रधान, केदार प्रसाद प्रधान र प्रबिन लाल सिंह रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button