‘निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको बिर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नीतिगत सुधार गरिएको बताउनुभयो ।
मन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई सङ्कट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो,”–उहाँले भन्नुभयो । निजी क्षेत्रहरू डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच राजनीतिक विचारधारा फरक भए पनि मुलुकको आर्थिक विकास र जनताको जीवनस्तर उकास्नका लागि दुई दल एक ठाउँमा उभिएको उहाँको भनाई थियो । स्थिर सरकार बनेको र गर्नुपर्ने काम धेरै भएको मन्त्री खड्काले बताउनुभयो । विगतमा भन्दा अहिले लगानी बढेको उहाँको भनाई थियो ।
मन्त्री खड्काले आफू ऊर्जा मन्त्री भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र, २०८१ जारी गरी सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र उत्पादित विद्युतमध्ये १३ हजार ५०० मेगावाट स्वदेशमा खपत र बाँकी १५ हजार मेगावाट छिमेकी मुलुक भारत, बङ्गलादेश लगायतका स्थानमा बिक्री गर्ने प्रस्ट लक्ष्य लिएको स्पष्ट पार्नुभयो । उक्त लक्ष्य पुरा गर्न ६४ खर्ब आवश्यक पर्ने उहाँको भनाई थियो ।
उहाँले विगत दुई दशकदेखि हल्ला र कुरा धेरै भए पनि आफ्नो कार्यकालमा बङ्गलादेश विद्युत् निर्यात गर्न सफल भएको बताउनुभयो । उहाँले अहिले भारतमा मात्र झन्डै १२ सय मेगावाट विद्युत् निर्यात भइरहेको उल्लेख गर्नुभयो । उहाँले उक्त विद्युत् बिक्रीबापत सरकारलाई १७ अर्बभन्दा बढी रकम आम्दानी भएको बताउनुभयो ।
उहाँले विद्युत् उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुनर्निर्माण गर्दा केही समय बत्ती जाने गरेको बताउनुभयो । लोडसेडिङ भने अब नहुने उहाँको भनाई थियो ।
ऊर्जा मन्त्री खड्काले मधेशमा कृषिमा विद्युतीकरण गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । आर्थिक हिसाबले देश समुन्नत बन्दै गएको उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्