तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको उद्धार

नेपालगन्ज । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ । माइती नेपाल नेपालगन्जले आज नेपालगन्जमा आयोजना गरेको आर्थिक वर्ष २०८१र८२ मा गरेका गतिविधिहरूको सामाजिक परीक्षण कार्यक्रममा संयोजक केशव कोइरालाले पछिल्लो एक वर्षको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । माइती नेपाल नेपालगन्जले भारतबाट १४ जनाको उद्धार गरेको जनाएको छ । यो वर्ष ८ सय १७ वटा खोजतलासको निवेदन परेको छ । त्यसमध्ये ४ सय ३७ जना फेला परेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो । मानव बेचबिखन सङ्गठित अपराध भएकाले यसलाई रोक्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको हातेमालो आवश्यक रहेकोमा उहाँहरूको जोड छ । जिल्ला समन्वय समितिका उपसंयोजक सीता कार्की, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक पातली, नेपालगन्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी, महिला विकास अधिकृत आशा शाही, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, अधिकारकर्मी कमला पन्त लगायतले सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढाएको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकालाई नाकामै रोकेर अभिभावकको जिम्मा लगाउने गर्दछ । उसले विभिन्न दिवसहरूमा नाकामा जनचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने, सडक नाटक देखाउने, अन्तरदेशीय कार्यशाला गर्ने गर्दछ । माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले खोजतलास तथा उद्दारका लागि धेरै निवेदन आउने र भारत तथा तेस्रो मुलुकबाट उद्धार गर्नुपर्ने हुँदा त्यहाँ सरकारी संयन्त्र नहुँदा उद्दारमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भारतबाट त्यहाँको सङ्घ संस्थाको सहयोग लिएर उद्धार गर्ने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button