‘स्टार्टअप कर्जा कार्यक्रम औद्योगिक विकासका लागि महत्त्वपूर्ण’
सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेशको औद्योगिक विकासलाई द्रुत गतिमा अघि बढाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रभावकारी हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्टार्टअप कर्जा कार्यक्रम’ सम्बन्धी प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानी अभावमा पछाडि परेको कर्णालीको समृद्धिका लागि उद्यमशीलताको विकासमा ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
सङ्घीय सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रदेश, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा व्यवसाय प्रवर्द्धन, बजारीकरणसँगै मूल्य शृङ्खलाको विकासका लागि समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले स्टार्टअप कर्जा वितरण प्रक्रियालाई सहज, पारदर्शी र सबैको पहुँचमा पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
स्टार्टअप इनोभेसन फोरमकी संयोजक जुना माथेमाले स्टार्टअप व्यवसायलाई बैङ्किङ पहुँचमा लैजाने प्रक्रिया र नव प्रवर्तनलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै आइइडीआईका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा कार्यक्रमको उद्देश्य, पात्रता, आवेदन प्रक्रिया र दस्ताबेज आवश्यकताबारे विस्तृत जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका महिला उद्यमी, युवा व्यवसायी, विभिन्न क्षेत्रका सरोकारवाला, उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले उद्यमशीलता विकास, वित्तीय पहुँच र व्यावसायिक परामर्श जस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्