तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले होटेल व्यवसाय पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताउनुभएको छ ।

मङ्गलवार जिल्ला होटेल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जा मन्त्री खड्काले पर्यटन र होटेल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकोले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको बताउनुभयो ।

सङ्घले बुझाएको ज्ञापन पत्रमा होटेल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र बिजुली महसुल उत्पादनमुखी उद्योग सरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ। सङ्घका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्‍याएको बताउँदै होटेललाई विशेष सुविधा दिनुपर्ने माग गर्नुभएको थियो ।

सरकारले सन् २०८२र८३ को बजेटमा होटेल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योग सरह मान्यता दिँदै विद्युत् महसुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सङ्घको गुनासो छ। सङ्घका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप सङ्कटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन्।

सङ्घका अध्यक्ष सुरेश बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यावसायिक अवस्थाबिच होटेल व्यवसायीलाई बिजुली महसुल छुटले ठुलो राहत दिने विश्वास व्यक्त  गरेका थिए । उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती, होटेल तथा पर्यटन व्यवसायी बागमती प्रदेशका सचिवालय सदस्य सञ्जीव श्रेष्ठ लगायतको संयुक्त टोलीले मन्त्री खड्कालाई भेट गरी ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button