६ महिनादेखि समिति विहीन सुदूरपश्चिमका अस्पतालहरू
बाजुरा। जिल्ला अस्पताल बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरू व्यवस्थापन समिति विहीन बनेका छन्।

प्रदेशका ९ वटै जिल्लाका जिल्ला अस्पताल तथा प्रादेशिक अस्पतालहरू लामो समयदेखि व्यवस्थापन समिति विहीन बनेका हुन् । अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूको कार्यकाल सकिएको ६ महिना बितिसकेको छ । यसअघि २०७८मा तीन वर्षका लागि व्यवस्थापन समितिका लागी राजनीतिक नियुक्ति पाएका पदाधिकारीको कार्यकाल सकिएपछि ती पदहरू अहिले रिक्त भएका हुन् ।
२०८१ चैत्र महिनादेखि जिल्ला अस्पताल बाजुरा सहित ९ वटा जिल्ला अस्पताल तथा प्रादेशिक अस्पताल समितिविहीन अवस्थामा छन् । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समितिको कार्यकाल सकिएको ६ महिना बितिसक्दा पनि नयाँ नियुक्तिमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तारमा समस्या भएको अस्पताल बाजुराका प्रमुख डाक्टर शेखर यादवले बताउनुभयो।
जिल्ला अस्पतालको व्यवस्थापन समिति अध्यक्षलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नियुक्त गर्ने व्यवस्था रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका सत्तारुढ दलबिच भागबन्डामा सहमति नहुँदा नियुक्ति प्रक्रिया रोकिएको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराका अनुसार अस्पताल व्यवस्थापन समिति चयनको प्रक्रिया अन्तिम चरणमा रहेको भए पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेशभरका सबै अस्पताल व्यवस्थापन समिति दसैँ–तिहार लगत्तै चयन हुने सूचना अधिकारी महराको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्