महिलाहरू सक्षम छन् : मुख्यमन्त्री आचार्य
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाहरू सक्षम बन्दै गएको बताउनुभएको छ ।

मोहन कन्या मावि तानसेनको हीरक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरू पुरुष सरह समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो । उहाँले पछिल्लो समय न्याय क्षेत्रमा महिलाहरूले देखाएको उत्कृष्ट नतिजाले पनि त्यसको पुष्टि गरेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले विगतमा कन्याहरूले पुरुषहरूसँगै बसेर पढ्न हुन्न भन्ने मान्यता अनुसार छुट्टै रूपमा विद्यालय स्थापना गरिएको भए पनि अहिले पुरुष र महिलाबिच कुनै पनि किसिमको फरकपन नभएको र पुरुष सरह महिला पनि हातेमालो गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको छात्रावासमा देखिएको समस्यालाई लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गर्ने बताउनुभयो ।
बि.स २००७ साल भदौ १६ गते स्थापना भएको पश्चिम नेपालकै जेठो कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनले हीरक महोत्सव मनाएको हो । विद्यालयमा ८ कक्षासम्म निःशुल्क दिवा खाजा, अङ्ग्रेजी माध्यममा समेत पाठ्यपुस्तक निःशुल्क तथा पहिलो पटक भर्ना हुने विद्यार्थीहरूलाई पोसाक निःशुल्क दिने गरिएको छ ।
२०७० सालबाट कम्प्युटर इन्जिनियरको पढाई सुरु गरेको विद्यालयले प्राविधिक शिक्षा पनि निःशुल्क गरेको छ । हालसम्म १ हजार १ जना छात्रा तत्कालीन एसएलसी हालको एसइई उत्तीर्ण भएका छन् । विद्यालयमा हाल ३ सय १३ जना कन्या विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्