कञ्चनपुरमा सशस्त्रका दुई बिओपीसहित केही बस्ती डुबानमा
प्रभावितलाई सुरक्षित स्थानमा सारियो

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलानालामा पानीको बहाव बढेको छ ।
दोधाराचाँदनी भएर बग्ने जोगबुढा नदीमा पानीको सतह बढेसँगै तटबन्ध फुटेर नदी गाउँ पस्दा दोधाराचाँदनी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

जोगबुढा नदीको पानी गाउँ पस्दा वडा नम्बर ८ रामपुरे टापु र जर्गा टोलका करिब २५ घरपरिवारका ७० जना स्थानीय बासिन्दा जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएका छन् । त्यस्तै, वडा नम्बर ३ पटराखल्ला टोलका १५ घरपरिवारका ५५ जना स्थानीय बासिन्दा जमुना आधारभूत विद्यालयमा सारिएको छ ।
दोधाराचाँदनी नगरपालिका वडा नं. १० मा रहेको सशस्त्र प्रहरी बल ९बिओपी० सुन्दरनगरमा कार्यरत २३ जनालाई ओमकार माध्यमिक विद्यालयमा, वडा नं.७ मा रहेको सशस्त्र प्रहरी बल (बिओपी) कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्रको भवनमा र शान्ति टोलका १२ घरपरिवारका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ ।

यस क्रममा सोमबार दिउँसो कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको कमाण्डमा थप १५ जनाको प्रहरी टोली उद्धार तथा अनुगमन कार्यका लागि खटिएको छ । प्रहरी टोलीले प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाइरहेको जनाइएको छ । प्रशासनले स्थानीयहरूलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेको छ ।
अविरल वर्षाका कारण कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर १५ तल्लो गोबरियामा बस्ने जयन्ती बोहराको भैँसी गोठ भत्केको छ । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला क्षेत्रका घरहरूमा भुजेला खोलाको पानी पसेको छ । प्रहरी र जनप्रतिनिधि र स्थानीय बासिन्दा सहितको उद्धार टोली प्रभावित स्थलमा खटिएको बताइएको छ ।

कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ । बिहान १० बजे नदीमा बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने अपराह्न ४ बजेको समयमा १ लाख ९५ हजार ४५० क्युसेक पुगिसकेको छ । यस कारण नेपाल(भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
प्रशासन र सुरक्षा निकायहरूले स्थानीयवासीलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्