‘हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले चित्त दुखाउन पर्दैन’
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले कालापानी, लिपुलेक हाम्रो हो हामीले हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले चित्त दुखाउन नपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हालै चीनमा रहनुभएका प्रधानमन्त्रीले चिनिया राष्ट्रपतिसँग आपत्ति जनाउनुभएको विषय सरकारको चट्टानी अडान हो भन्नुभयो ।
उहाँले लिपुलेक नेपालको भूमि भएको हुँदा यसले छिमेकी देशसँगको सम्बन्ध बिगार्ने कुनै कारण नहुने पनि दाबी गर्नुभयो ।
गृहमन्त्री लेखकले राजनैतिक सहमतिमा सर्वसम्मत रूपमा संविधान संशोधन गरिने बताउँदै काँग्रेस र एमालेबिच सरकार गठनकै बेला भएको सहमति अनुरूप सबैको सहकार्यमा चरणबद्ध रूपमा संविधान संशोधनको प्रक्रिया अगाडी बढेको बताउनुभयो ।
गृहमन्त्री लेखकले सञ्चार र लोकतन्त्र एक अर्काका परिपूरक भएको र लोकतन्त्र बिना स्वतन्त्र पत्रकारिता सम्भव नहुने बताउनुभयो ।
सरकारले सीमा सुरक्षा र सीमा अपराधलाई गम्भीर रूपमा लिएको भन्नुहुँदै कुनै देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने बताउनुभयो ।
उहाँले भिजिट भिसामा लाखौँ लाख मान्छे विदेश जाने गरेको हुँदा यसलाई नीतिगत र कानुनी रूपमा सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।
गृहमन्त्री लेखकले अहिलेको संविधान ठुलो त्याग र बलिदानबाट आएको हुँदा यसको रक्षा आजको महत्त्वपूर्ण विषय हो भन्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले मुलुकमा शान्ति सुरक्षा नभई देश विकाश, सुशासन हुन सक्दैन भन्नुहुँदै शान्ति सुरक्षालाई सबल बनाउन सरकार लागिपरेको दाबी गर्नुभयो ।
एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि सरकारले नेपाली सेनासहित तिनै तहका सुरक्षाकर्मीलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक अनुसार परिचालन गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्