तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले विकास साझेदारहरू र विज्ञहरूसमेतको सरसल्लाहमा प्रस्तुत गरेको विधेयक सभाबाटै पारित गर्न आग्रह गर्नुभयो ।  

बैठकमा सांसदहरुले विकास निर्माणका सम्बन्धमा कानूनी व्यवस्था गर्ने गरी आएको विधेयकलाई विस्तृत छलफलका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउन आग्रह गर्नुभयो । 

विधेयकको सैद्धान्तिक पक्षहरूमा बोल्दै सांसदहरुले मुलुकको विकासमा नयाँ मोडल अपनाउन  लागु गर्न  कानूनी आधार तयार गर्ने उद्देश्यले आएको विधेयकले कानूनी बाटो खोलेको भन्दै आर्थिक समृद्धि र दिगो विकास भई  निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने हुँदा विधेयकको सैद्धान्तिक पक्षमा सहमति जनाउनुभयो । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण रहँदा  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकिएको  राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । 

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट पारित भई प्रतिवेदनसहित आएको भूमि सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक सभासमक्ष टेबुल गर्नुभयो । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष दाहालले संघीय संसद्को संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिको  सभापतिमा डा. अन्जान शाक्यलाई मनोनयनमा सहमति भएको जानकारी गराउनुभयो । । 

राष्ट्रियसभाको अर्को बैठक भदौ १७ गते मङ्गलवार एक बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button