चाडबाड बाक्लिँदै गर्दा तरकारीको मूल्य आकासियो
महोत्तरी I एकपछि अर्को चाडवाड नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिँदै गएको छ ।
साउनको नागपञ्चमीयता बजारमा हरिया सागसब्जीको मूल्य आकासिएको उपभोक्ताले बताएका छन् ।
साउन मध्यसम्म रु ३५ प्रतिकिलो पाइएको पुरानो स्थानीय आलु ५० पुगेको छ । पहाडबाट झारिएको आलु त रु ७० प्रतिकिलो पुगेको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्य बताउनुहुन्छ । यसैगरी भन्टा प्रतिकिलो रु ८० सम्म पुगेको छ । नागपञ्चमीयता राखी, कृष्णअष्टमी, तीज, चौरचन र भदैया रैब पर्व मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा मनाइएको छ । अब पितृपक्ष, जितिया र दशहरा (दसैँ) मुखमै छन् । चाडबाडमा स्वाभाविक रूपमा सागसब्जी तरकारीको खपत बढ्ने हुँदा उपभोक्ता महँगीको मारमा परेका बर्दिबास–२ कै बासिन्दा अटोचालक भोला महतो बताउनुहुन्छ ।
अधिक वर्षा तरकारीखेतीका लागि उपयुक्त हुँदैन । तर यसपालि असारयता पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने आकासिँदै गएको हो । असारसम्म बढीमा रु ४० प्रतिकिलो पाइने गरेको परवल अहिले १०० को हाराहारी पुगेको छ । यसैगरी, गोलभेँडा ९०, पहाडबाट झारिएको काउली त रु २०० प्रतिकिलो पुगेको आइतबार भदैयारैब पर्वका लागि तरकारी किन्न बजार जानुभएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारूले बताउनुभयो ।
यसैगरी, हरियो फर्सी ६०, अरुवा (पिँडालु) ७०, करेला ९०, घिरौँला, झिमनी र भिन्डी (रामझिमनी) ५० र ओल रु १५० प्रतिकिलो पुगेको छ । चाडवाड बाक्लिँदै गर्दा हरियो सागसब्जी र विभिन्न तरकारीको मूल्य चर्किएको उपभोक्ताको आम गुनासो छ । यसपालि लामो खडेरीले यहाँ स्थानीय तरकारीको उत्पादन घट्दा अहिले बजारमा तरकारीको धेरैजसो माग पहाडबाट झारिएको तरकारीले लिएको छ । यी तरकारी किसानको हातमा नभई व्यापारीको तजबिजमा हुँदा मूल्य आकासिएको आम उपभोक्ता लख काट्छन् । अहिले पहाडबाट झरेको तरकारी यहाँका बजार मात्र नभई सीमापारिका भारतीय बजारसम्म पुग्ने गरेको छ । यसले पनि यहाँ तरकारीको मूल्य निकै बढाएको व्यापारी स्वीकार गर्छन् ।
“लगालगी चाडबाड परेका छन्, माग बढ्दो छ, यसले गर्दा तरकारीको मूल्य अझै केही बढ्नसक्छ,” बर्दिबास–१ का तरकारी व्यापारी दिलीप कुशवाहा भन्नुहुन्छ, “हामीकहाँ आइपुग्दासम्म यो तरकारी तीन ठाउँ बेचिन्छ, सबैले केही न केही नाफा राखेरै बेच्नुपर्दा मूल्य अलि बढेको हो ।” यहाँ उत्पादन घटेको, भारतबाट तरकारी आउन छाडेको र पहाडबाट झारिने तरकारीको ढुवानी भाडा बढ्दा बजारमा मूल्यमा प्रभाव परेको व्यापारीको भनाइ छ । यो क्रम यहाँ हिउँदे तरकारी ननिस्किउञ्जेल रहनसक्ने सीतापुर बजारका अर्का व्यापारी रामप्रताप साह बताउनुहुन्छ ।
यता यहाँका किसान भने गत हिउँदमा आफ्नो उत्पादन कौडीको मूल्यमा बेच्नु परेको सम्झँदै अहिले किनेर खानुपर्दा परेको मूल्यले बिरक्तिएका छन् । अहिलेको तरकारी बजार किसानको नभई व्यापारीको कब्जामा रहेको किसान बताउँछन् । “प्रतिकूल मौसमले यसपालि हाम्रो तरकारीखेती फस्टाएन, कुनै बजारमा तरकारी बेच्न बसेका किसान हम्मेसी देखिन्नन्,” तरकारी खेतीका अब्बल किसान मानिने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो भन्नुहुन्छ, “अहिले त आफ्नो भान्सा पनि बजार गइने झोलाले धान्नु परेको छ ।”
साउनयता भारतबाट यता आउने तरकारी पूरै रोकिएको छ । बरु सीमावर्ती भारतीय बजारमा पनि काभ्रेको मङ्गलटार, भकुण्डेबसी, मकवानपुरको टिस्टुङ्पालुङ, रामेछाप, सिन्धुली र पूर्व धनकुटादेखि आउने तरकारी पुगिरहेको हुँदा यहाँका बजारमा मागअनुसार अपुग हुँदा मूल्य बढेको जलेश्वर भन्सार नाका मलिबारास्थित प्लान्ट क्वारेन्टिइन कार्यालयका प्रमुख किशोर यादवको आकलन छ ।
“हेर्नोस् न, हाम्रै नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब २० थरीका तरकारी दुई हजार ६८३ मेट्रिक टन भित्रिएको थियो, यसपालि नयाँ आर्थिक वर्ष (२०८२/८३) सुरु भएयता यो क्रम लगभग ठप्प छ,” यादव भन्नुहुन्छ, “यसको प्रभाव त हाम्रो बजारमा परिहाल्छ ।” अहिले त भारतको तरकारी यता आउनुसट्टा हाम्रै पहाडका तरकारी उताको बजारमा पुग्दा यहाँ मागअनुसार तरकारी नहुँदा मूल्य बढेको प्लान्ट क्वारेन्टिइन कार्यालयका अधिकारीको ठम्याइ छ ।
अहिले तरकारीको मूल्यवृद्धिले होटल सञ्चालक पनि सकसमा परेका छन् । आम उपभोक्ताको क्रयशक्ति घटेका बेला खानामा मूल्यवृद्धि गर्दा व्यवसाय नै धराशयी हुने अवस्था बनेको उपभोक्ता हक संरक्षण मञ्चका अध्यक्षसमेत रहनुभएका बर्दिबास–३ स्थित होटल शिशमहलका सञ्चालक दीपेन्द्र पराजुली बताउनुहुन्छ । महोत्तरीका मटिहानी, भङ्गाहा, बलवा, गौशाला, लोहारपट्टि र बर्दिबाससहितका स्थानीय तहका बस्तीहरू तरकारीखेतीका पकेटक्षेत्र मानिन्छन् । यस जिल्लामा २२ हजार ६८० हेक्टर क्षेत्रफलमा विभिन्न थरीका तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका कृषिविज्ञसमेत रहनुभएका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिनुभयो । अहिले यताको प्रतिकूल मौसमले बर्खे तरकारी राम्रो उत्पादन हुन नसकेको र अब हिउँदे तरकारी लगाउने बेला परेको हुँदा तयार तरकारी कम भएको महतोको भनाइ छ ।
यता आम उपभोक्ता भने चाडबाडको मुखमा बढ्दै गएको मूल्यले आहत भएका छन् । महँगीकै कारण चाडबाडमा मन फुकाएर सागसब्जी खान नपाइने उपभोक्ताको चिन्ता छ । चाडबाडका बेला तरकारी मात्र नभएर अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने र भीडभाडको बेला पारेर कमसल सामग्री उपभोक्तालाई दिने गरेका यहाँको विगत छ । यसलाई दृष्टिगत गरी स्थानीय प्रशासन, स्थानीय तह र सम्बद्ध निकायले चाडबाडका बेला सघन अनुगमन गरी दिनुपर्ने आम उपभोक्ता बताउँछन् । रासस
प्रतिक्रिया राख्नुहोस्