तपाईँ सुन्दै हुनुहुन्छः

स्वस्थ जीवनशैली अपनाउन सन्देश प्रवाह गरौँ: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गर्नुभएको छ ।  आज यहाँ चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी वितरण समारोह’ मा उहाँले जीवनलाई स्वास्थ्य र तन्दुरुस्त राख्न नियमित स्वास्थ्य जाँचका साथै अनुशासित जीवनशैली अपनाउन सन्देश प्रवाहका लागि आग्रह गर्नुभएको हो । 

मन्त्री गुरुङले भन्नुभयो, “हामीले आफ्नो स्वास्थ्यका बारेमा गरिने परीक्षणमार्फत बेलैमा विभिन्न जानकारी पाउने गर्छौँ, यसले गम्भीर प्रकृतिका रोगबाट बचाउँछ । साथै, कलाकारको जीवनशैलीलाई आमदर्शक र नागरिकले पछ्याउने भएकाले पनि स्वास्थ्यसम्बन्धी गतिविधिमा चनाखो हुनु जरुरी छ ।”

उहाँले विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नेलाई रु एक लाख ५० हजार र चलचित्रकर्मीको परिचय प्राप्त गर्नेलाई रु ७५ हजारको स्वास्थ्य बिमा (औषधि÷उपचारका लागि) उपलब्ध गराइने घोषणा गर्नुभयो । मन्त्री गुरुङले चलचित्र क्षेत्रको समृद्धिका लागि सरकार र आफूले गम्भीर भएर काम गरिरहेको बताउनुभयो । 

“सरकारले यस क्षेत्रमा सक्दो सहयोग गरिरहेको छ । नीतिगत कुरासँगै पूर्वाधार विकासमा पनि सकेको सहयोग गरेका छौँ । राष्ट्रिय चलचित्र दिवस (असोज १५ गते) घोषणा गरेका छौँ । उक्त दिनलाई भव्यताका साथ मनाउन म चलचित्रकर्मीलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नयाँ बन्ने चलचित्र नीतिले हाल देखिएका केही अपूर्णतालाई सम्बोधन गर्ने बताउनुभयो । “चलचित्र क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न पुगेको छ । मनोरञ्जनमा सीमित यस क्षेत्रले जसरी आफ्नो अस्तित्व बनाउँदै सम्मानित क्षेत्र बन्न पुगेको छ, आगामी दिनमा अन्तरराष्ट्रियस्तर हासिल गर्नेमा पूर्ण विश्वस्त छु  । यसका लागि चलचित्र निर्माता, निर्देशकसँगै हामीले पनि विकास बोर्डमार्फत विभिन्न कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई राज्यले चलचित्रकर्मी परिचयपत्र दिएकाले यो महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले २० देखि ३० वर्षसम्म चलचित्र कर्ममा बिताउनुभएका चलचित्रकर्मीलाई परिचयपत्र दिएका छौँ । आफ्नो जीवनको ऊर्जावान् समय चलचित्रको स्तरोन्नतिमा खर्चिनुभएका चलचित्रकर्मीलाई दिइएको परिचयपत्रमा बिस्तारै सकेको सेवा सुविधा थप्दै जाने छौँ । यो राज्य दिएको एउटा पहिचान हो । हामीले यसमा कुनै विभेद नगरी प्रक्रिया पुगेका सबै चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिरहेका छौँ ।”

अध्यक्ष डिसीले चलचित्रमा काम सुरु गरेको ३० वर्ष पुगेकालाई विशिष्ट चलचित्रकर्मी र २० वर्ष नाघेकालाई चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानलगायतका ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button