“संविधानको मूल भावनाको संरक्षण गर्दै संविधान संशोधन जरुरी”
जनकपुरधाम । संविधान कार्यान्वयनको १० वर्षको अवधिमा प्राप्त भएको उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि संविधानको संशोधन हुनुपर्नेमा यस क्षेत्रका जानकारहरूले जोड दिनुभएको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले संविधानमा कतिपय प्रावधानहरू राम्रो भए पनि कार्यान्वयन नभएको बताउँदै प्रहरी समायोजन हालसम्म नहुनु त्यसको उदाहरण भएको बताउनुभयो । उहाँले मधेश प्रदेश सरकारले सागरनाथ वन परियोजना बचाउनका लागि सर्वोच्चमा दिएको रिटको अन्तिम निर्णय नभएकाले वन क्षेत्र बेवारिसे बनेर त्यसमा तस्करी बढ्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता रामसरोज यादवले सङ्घीयताले गाउँ घरमा विकासको लहर आएको भए पनि संविधानको महत्त्वपूर्ण सिद्धान्तहरू कार्यान्वयन नभएको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले संविधानको कार्यान्वयन गर्ने सर्वोच्च निकाय इमानदार बन्न जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले संविधानका कारणले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चितता गरेको बताउँदै संवैधानिक अधिकारको सही किसिमले बाँडफाँड गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक रत्नेश्वरलाल गाइत, बेची, लुङ्गेलीले संविधानको कार्यान्वयनमा नेतृत्वबाट इमानदार प्रयास हुन जरुरी रहेको बताउनुभयो ।
गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष जवाहरलाल यादवले वर्तमान संविधानको खुसबुको रूपमा रहेको सङ्घीयताको रक्षा गर्दै स्थानीय तहलाई दलविहीन बनाउनुपर्ने धारणा राख्नुभयो ।
योजना आयोगका पूर्व सदस्य डा. सुरेन्द्र लाभले संविधानको संशोधनको एजेन्डामा बनेको सरकार सहित सबै दलहरू संविधान संशोधनका लागि करिब सहमत भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संशोधन हुनुपर्ने धारणा राख्नुभयो ।
एकेडेमीका पूर्व सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसद खिमलाल देवकोटा, एकेडेमीका सदस्य कृष्ण प्रसाद सापकोटा, अधिवक्ता रेखा झा, नीति तथा योजना आयोगका सदस्य डा. रिना यादव लगायतले धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्