मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : मन्त्री पौडेल
रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ।
शनिवार रुपन्देहीको मर्चवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गर्नुभयो।
उहाँले मर्चवारको विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्दै, आगामी २–४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउने प्रतिबद्धता जनाउनुभयो। सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाले उपप्रधानमन्त्री पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ रोड निर्माण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेताहरूले एमाले मात्र देश विकासको प्रमुख आधार हुन सक्ने निष्कर्ष प्रस्तुत गरेका थिए।
रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्न भण्डार भनिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्त्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो । डेढ लाख जनसङ्ख्या ओगट्ने मर्चवारमा आज पनि धेरै घरमा शौचालय छैनन्, ह्यान्डपम्प वरिपरि दुर्गन्धमय फोहर छ, स्कुले बालबालिकाले धुलोमै खेल्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ जस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए । तर, पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्