विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल जारी
काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती विधेयकमाथि आज पनि दफावार छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा दफा ६२ देखि ७७ सम्म रहेका कर्मचारी अवकाश, उपदान, निवृत्तिभरणका सम्बन्धमा सांसदहरु डा. वेदुराम भुसाल, डा अन्जान शाक्य, झक्कु सुवेदीलगायतले प्रतिनिधिसभाबाट पारित भइआएको प्रतिवेदनसहितको विधेयमा रहेको ५५ वर्ष पूरा भएपछि कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने र थप पाँच वर्ष सेवा दिने व्यवस्थाले राज्यलाई आर्थिक भार पर्ने भन्दै सो व्यवस्था हटाउन प्रस्ताव गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारीले कार्यालयका लागि योगदान गर्न नसक्ने अवस्थामा मात्रै स्वैच्छिक अवकाश लिने र सेवा अवधि पाँच वर्ष थपिए पनि तलव सुविधा भने नपाउने स्पष्ट पार्नुभयो ।
आजै विधेयकको परिच्छेद ८ मा रहेको कर्मचारीको तालिम, अध्ययन र छात्रवृत्ति र परिच्छेद ९ को कर्मचारी आचरणका सम्बन्धमा पनि छलफल भएको छ ।
छलफलमा सांसदहरुले सरकारका कर्मचारीले राजनीतिक क्रियाकलाप गर्न नपाउने र अनियमिता गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था राख्ने गरी विधेयक संशोधन प्रस्ताव गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्