तपाईँ सुन्दै हुनुहुन्छः

फल्नै लागेको धानमा रोग फैलिँदै, किसान चिन्तित

बाजुरा। बाजुराको बडिमालिका नगरपालिका–५ मना लगायत अधिकांश गाउँका पाखो जमिनमा लगाइएको भुवा धानमा रोग लाग्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

बाला लाग्न थालेको धानमा पात पहेँलो हुने, बोट कुहिन थाल्ने र बालामा राम्रो दाना नबन्ने समस्या देखिएको छ।

बडिमालिका-५ कि स्थानीय कृषक जवा लुहारका अनुसार गोडमेल लगायत करिब ५ महिना सम्मको मेहनतपछि बाला लाग्ने बेलैमा धानमा रोग देखिन थालेपछि उत्पादन नै नहुने र भोकमरी हुने भन्ने चिन्ता बढेको छ। बाजुरामा अधिकांश किसानको मुख्य पेसा र आम्दानीको मुख्य स्रोतका रूपमा रहेको धान खेती रहँदै आएको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार, भिरालो जमिन, अत्यधिक वर्षा भएर मल बगेर जानुले धानमा आवश्यक पोषक तत्त्वको कमीका कारण यस्तो समस्या देखा परेको हो। उहाँले यसको समाधानका लागि कृषि ज्ञान केन्द्रसँग आवश्यक औषधि भएकाले लिएर छर्न किसानहरूलाई आग्रह गर्नुभयो।

कार्यालय प्रमुख सहानीका अनुसार, अहिले धानमा देखिएको समस्या पोषणको अभावकै कारण सुरु भएको भए पनि, समयमै नियन्त्रण नगरे यो रोगकै रूपमा फैलन सक्ने खतरा छ।

धानमा रोग लाग्ने समस्या बडिमालिका-५ को मनामा मात्र नभई जिल्लाका अन्य गाउँहरूमा समेत फैलन थालेको स्थानीय कृषकहरूले बताउनुभएको छ।

धान पाक्ने बेलामै रोग लाग्दा उत्पादनमा ठुलो हानी हुने भएकाले किसानहरूले तत्काल औषधि, प्राविधिक सहयोग र रोग नियन्त्रणका उपायहरू उपलब्ध गराउन सरोकारवाला सँग आग्रह गर्नुभएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button