भासुभिरमा पहिरो: सात पहाडी जिल्लाको यातायात ठप्प
डडेल्धुरा । सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत भासुभिरमा पहिरो खस्दा यातायात पूर्ण तया ठप्प भएको छ ।
दुई दिन देखि लगातार परेको बर्षाका कारण सडकमा पहिरो आएपछि यातायातका साधनहरू बन्द भएका हुन । शुक्रबार दिउसो साढे एक बजेतिर भासुभिरबाट पहिरो खसेर सडक अवरुद्ध बनेपछि यातायात ठप्प भएको प्रत्यक्षदर्शी इन्द्रबहादुर साउँदले बताउनुभयो ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौँ गाडीहरू जाम लागेर यात्रुहरू बिचल्लीमा परेका छन् । सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय कुलपाते र अत्तरिया सडक डिभिजन कार्यालयलाई खबर गरिएकाले पहिरो हटाउन डोजर आइरहेको साउँदले बताउनुभयो ।
पहाड र तराईतर्फ गइरहेका सवारी साधनहरू सडक अवरुद्धका कारण बिच बाटोमै अलपत्र अवस्थामा परेका छन् । पहिरोका कारण एउटा मोटरसाइकल समेत भासुभिरबाट खसेको र यात्रुहरू भने सुरक्षित नै रहेको प्रत्यक्षदर्शी साउँदले जानकारी दिनुभयो । भिरबाट पहिरो खस्न थालेपछि मोटरसाइकल छोडेर चालक अगाडि बढेपछि सुरक्षित अवस्थामा रहेको बताइएको छ । पहिरो हटाउनका लागी सुरक्षाकर्मीहरू घटनास्थलतर्फ आइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख प्रेम शाहीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्