तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस नेता चौधरीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

विसं २०१३ भदौ १५ गते जन्मनुभएका स्व चौधरीले लोकतन्त्रको स्थापना तथा पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । लोकतन्त्र र जनताका हकअधिकारका लागि गरिएको आन्दोलन र सङ्घर्षका क्रममा उहाँले पटक-पटक जेलनेल भोग्नुभएको काँग्रेसले जनाएको छ ।

स्व चौधरीले स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका चौधरीको निधनबाट नेपाली काँग्रेसले एक होनहार व्यक्तित्वलाई गुमाएको काँग्रेसले जनाएको छ ।

चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । देउवाले चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button