तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । 

चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि आज उहाँले प्रतिबद्ध भएर कार्यान्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभएको हो । 

मन्त्री शाही र सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो । “प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यान्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु, “मन्त्री शाहीले भन्नुभयो, “मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयन गर्न तपाईँहरू पनि कटिबद्ध भएर लाग्नुस् ।”

आगामी कार्यसम्पादनको मूल्याङ्कन ९० प्रतिशत अङ्कभार प्राप्त गर्ने गरी कार्यान्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधा अड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।” उहाँले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातेमालो गरी अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button