बर्दघाटका हाट बजारमा अखाद्य रङ मिसिएको मासको दाल
नवलपरासी,पश्चिम्।पश्चिम् नवलपरासीको बर्दघाट नगर क्षेत्रका बजारहरूमा अखाद्य मासको दाल भेटिएको छ ।बर्दघाट नगरपालिकाले बर्दघाटका विभिन्न वडाहरूमा लाग्ने हाटबजारको अनुगमनका क्रममा यस्तो दाल फेला परेको हो ।
बजारमा मासको दालमा अखाद्य कालो रङ मिसिएको गुनासो आएपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा मासको दाल रङयुक्त भेटिएको बर्दघाटका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।
भारतीय बजारबाट सजिलो गरी खुलेयाम भित्रने यस्ता खाद्य बस्तुले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने देखिएको छ ।झट्ट हेर्दा राम्रो देखिने सजिलै पहिल्याउन नसकिने तर घरमा लगेर पखाल्दा दालबाट अत्यधिक कालो रङ जाने गरेको उपभोक्ताहरूको गुनासो छ ।
“पानीमा भिजाउँदा कालो रङ देखिएको छ,दाल अलि बढी चिप्लो पनि छ,अर्को कुरा दालमा अरू चिज पनि मिसावट होकि भनेजस्तो पनि छ”उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भन्नुभयो ।
गत सोमबार बर्दघाट १ निवासी लक्ष्मण थापा मगरले दाल किनेर लगेपछि दालमा अनौठो रङ देखिएको बताउनुभयो ।”दाल किनेर लगे दाल पकाई सकेपछि त हरियो खालको घोल जस्तो अनौठो रङ देखियो,पछि बाकी दाल धोएर हेर्दा कालो रङ गयो,बोक्रा नभएको दानामा पनि रङले कालो देखिएको रहेछ,पानीले पखाली सकेपछि त सेतो भयो”मगरले भन्नुभयो ।
हाटबजारमा देखिएको दाललाई नगरपालिकाको अनुगमन समितिले जफत गरी नष्ट गरेको छ ।त्यस्ता दाल बिक्रेताहरूलाई आइन्दा बिक्री वितरण नगर्न सचेत गराइएको छ ।हाटबजार मात्रै होइन अन्य बजार क्षेत्रमा पनि अनुगमनलाई निरन्तरता दिइने उपप्रमुख एवम् अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्यायले बताउनुभयो ।कहीँ कतै अखाद्य बस्तु भेटिए उपभोक्ता स्वयंले समेत जानकारी गराउन उनले आग्रह गर्नुभयो ।
खुला रुपमा भारतीय बजार बाट सहजै रुपमा भित्रने यस्ता अन्य खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्य माथी नाङ्गो खेलबाड भएपनी सम्बन्धित निकायले ठोस कदम भने चालेको देखिँदैन ।
प्रतिक्रिया राख्नुहोस्