तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विकासका लागि सामुदायिक वनमा जिप सफारी  

चितवन  । चितवनको सौराहा नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन विकासको लागि जिप सफारी शुरु भएको छ । 

रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित बुधबार वनको कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जिप सफारीको उद्घाटन गर्नुभएको हो।

जिप सफारी सुरु भएकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसुधन पौडेलले जिप सफारी मार्फत सो सामुदायिक वनको अवलोकन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व वनमन्त्री कृष्णप्रसाद सिलवाल, रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त सहित राजनीतिक दलका नेतृत्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा वनका अध्यक्ष जोगेन्द्र महतोले सौराहाको काखैमा रहेको वनमा स्थापनाको २२ वर्षपछि जिप सफारी सुरु गरेको भन्दै पर्यापर्यटन मार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्य रहेको बताउनु भयो। । 

सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई जिप सफारी मार्फत वन्यजन्तुको अवलोकन गराउने उद्देश्यले व्यापक तयारी गरी सफारी सुरु गरिएको बताउँदै उहाँले जिप सफारी मार्फत पर्यटकले एकसिँगे गैँडा, बाघ, जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, जरायो जस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्ने बताउनु भयो  ।

१०६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन २०६० सालमा स्थापना भएको हो । करिब २ हजार उपभोक्ता रहेको सो सामुदायिक वनमा पर्यापर्यटनको विकासकै लागि २०६६ सालमा डुङ्गा सञ्चालन गरिएको सचिव नारायण चौधरीले जानकारी दिनुभयो । जिप सफारीको लागि सो वनले व्यवस्थित रुट तयार गरेको छ । साढे चार किलोमिटरको दूरीमा डेढ घण्टा देखि दुई घण्टा सम्म पर्यटकलाई सफारी गराइने छ । सुरुवाती चरण बिहान ७ वटा र बेलुका ७ वटा गरी दैनिक १४ वटा जिप सञ्चालन गरिने सचिव चौधरीले जानकारी दिनुभयो ।

उद्घाटन समारोहका प्रमुख अतिथि पूर्वअर्थमन्त्री थपलियाले मध्यवर्ती सुरक्षा र सन्तुलन रहेको भन्दै जिप सफारीलाई अवसरको रुपमा लिएर उचित व्यवस्थापनका साथ सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले सौराहालाई बाढीको जोखिमबाट जोगाउन लोथर देखि सौराहासम्म मजबुत ड्याक निर्माणको थालनी भएको बताउनु भयो  ।

३५ वर्ष अघि निर्माण भएको ड्याक जीर्ण भइसकेको भन्दै उहाँले पुन निर्माणको लागि आफू मन्त्री हुँदा १८ करोड रुपैयाँ विनियोजन गरेर काम सुरु भएको बताउनु भयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button