तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभाको छैटौँ अधिवेशन भोली शुरु हुँदै

जनकपुरधाम । मधेस प्रदेश सभाको छैटौँ अधिवेशन भोलिबाट शुरु हुन लागेको छ । मधेस सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेपछि भोली बैठक बस्न लागेको हो । 

मधेस प्रदेशसभा सचिवालयले भोलीको बैठकका लागि सम्पूर्ण तयारी पुरा गरेको एवं बैठकका विषयमा प्रदेशसभाका सबै सदस्यहरूलाई जानकारी गराउने काम भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी सहित अन्य प्रतिपक्षी दलहरूले प्रदेशसभामा भएको अवरोधलाई निरन्तरता दिइने जनाएका छन् ।

सरकारले आफूहरूको माग सम्बोधनका लागि चासो नलिएको बरु अर्थमन्त्रीले बजेट ल्याउने काम गरेको जनाउँदै प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने पक्षमा रहेको प्रतिपक्ष दलका नेताहरूको भनाइ छ ।   

यसै बीच सबै दलहरूको भावना बुझ्नका लागि प्रदेश सभाको बैठक बस्नु अगाडी मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले भोली बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । 

भोलीको बैठकमा विभिन्न दलहरूको तर्फबाट छैटौँ अधिवेशनको विषयमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने, विषयगत समितिका वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मधेश प्रदेश सभा गठन भएको यतिका वर्ष पछि पहिलो पटक महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश हुन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button