तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज: हैजा प्रकोप नियन्त्रणका लागि तिनै तहको सरकार सक्रिय

वीरगञ्ज । वीरगञ्जमा समुदाय स्तरमा फैलिएको झाडापखाला र हैजाको प्रकोप नियन्त्रणमा लिन तिनै तहका सरकार जुटेका छन् ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, आज बिहान सम्म विभिन्न अस्पतालमा उपचारपछि २ सय २३ जना बिरामी निको भएर घर फर्किएका छन् । गत शुक्रवारदेखि आज बिहान सम्म ४ सय २२ जना बिरामी अस्पताल भर्ना भएका थिए । भर्ना भएकामध्ये १ सय ९९ जना अझै उपचाररत छन् । तीमध्ये झाडापखालाका गम्भीर लक्षणसहित हैजा पुष्टि भएका बिरामी पनि रहेका छन् ।

हैजा फैलिनुको मुख्य कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा वीरगञ्ज महानगरले पानीको नमुना सङ्कलन गरी परीक्षणको प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गरिएका १० नमुनामध्ये ८ मा हैजा पुष्टि भएको छ भने बाँकी दुई नमुनाको रिपोर्ट आउन बाँकी छ ।

हैजा तीव्र रूपमा फैलिएपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालयलाई आजबाट थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

महानगर र स्वास्थ्य निकायले संयुक्त रूपमा सरसफाइ र सचेतनामूलक अभियान चलाइरहेका छन् । चिकित्सकहरूले स्थानीयलाई पानी उमालेर मात्रै पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button