माओवादीप्रति जनविश्वास बढ्दै छ: अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताउनुभएको छ।

कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा काँग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रस्ट भएको उल्लेख गर्नुभयो।
उहाँले स्थानीय तह, स्ववियु, पत्रकार महासङ्घ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण सङ्घको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “हाम्रो पार्टी र सङ्गठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। काँग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।”
अध्यक्ष प्रचण्डले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिनुभयो।
शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उहाँले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताउनुभयो। “काँग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” उहाँले उल्लेख गर्नुभयो।
उहाँले वाईसीएल, विद्यार्थी सङ्गठन लगायत जन वर्गीय सङ्गठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै सङ्गठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। “अब घर-घरमा पुग्ने, टोल–टोलमा सङ्गठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उहाँले निर्देशन दिनुभयो।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र सङ्गठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्नुहुँदै बैठकको सफलताको शुभकामना दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्