तपाईँ सुन्दै हुनुहुन्छः

पशुपतिमा सहजै दर्शनको व्यवस्था

काठमाडौँ । यस वर्ष हरितालिका (तीज) पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्ने महास्नान घर र दक्षिण ढोकाअघि बनेको अस्थायी आकासे पुलले  भक्तजनलाई दर्शन गर्न सहज भएको छ । 

दुई आकासे पुलका कारण पशुपतिनाथको मूल मन्दिर परिसरमा धेरै घुइँचो हुन पाएको छैन । महिला बर्तालुले सहज रूपमा दर्शन गरेर फर्कन पाएका छन् । अकासे पुलले भक्तजनलाई आवागमनमा सहज बनाएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मन्दिरको मुख्य क्षेत्रमा सुरक्षा निकाय र कोषका कर्मचारीले व्यवस्थापन गरेका छन् । विगतका वर्षमा मन्दिरको मुख्य क्षेत्रमा स्वयंसेवककै समूहले बाटो जाम गर्ने समस्या हुन्थ्यो । स्वयंसेवकलाई मन्दिरको मुख्य क्षेत्र बाहिर नै सहजीकरणका लागि खटाइएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । सुरक्षा निकाय र कोषले नै अन्य व्यवस्थापनको काम गर्ने भएकाले स्वयंसेवकलाई बाहिरी भागमा सहजीकरण मात्र गर्न भनिएको उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा विशेष पूजाको रसिद नकाट्दा पनि महिला बर्तालुले छिटो दर्शन गरेर फर्कन सहज भएको हो ।  

मूल मन्दिरअघिको मुख्य क्षेत्रमा विगत वर्षमा ब्राह्मण राख्दा पनि बढी भीड हुने गरेको थियो । कोषले यस वर्षदेखि गोदान, पूर्णपात्र गर्नलाई नयाँ सोभेनियर पसल बनेको गणेश मन्दिर अघिको भाग छुट्टाएकाले पनि भक्तजनलाई व्यवस्थित गर्न सहज भएको हो । आगामी पर्वमा पशुपति क्षेत्रमा अझै व्यवस्थित गर्दै लैजाने योजना कोषको छ । कार्यविधि नै बनाएर पशुपति क्षेत्रमा ब्राह्मण व्यवस्थित गर्न लागिएको कोषका निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।

कोषले मन्दिरको पश्चिम मूल ढोकाअघि गरेको वाष्पीकरणले पनि भक्तजनलाई सहज भएको छ । भदौरे तातो घाममा महिला व्रतालु वाष्पीकरणको आनन्दानुभूतिमा रमाएका छन् । बाहिरबाट मन्दिरअघिको पश्चिम मूल ढोकामा आउँदा शीतलतासँगै आनन्द लागेको जावलाखेलबाट दर्शन गर्न  आउनुभएकी रश्मि खत्रीले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा दर्शन गरेपछि भक्तजनले पशुपति क्षेत्रमा नाचगान तथा भजन कीर्तन गरी रमाइलो गरिरहेका छन् । तीजका अवसरमा पशुपति क्षेत्रमा विभिन्न संस्थाले स्वास्थ्य शिविर आयोजना गरेका छन् । नेपाली सेना र काठमाडौँ महानगरपालिकाले मन्दिरको मुख्य क्षेत्रमै स्वास्थ्य परीक्षण गरी महिला वर्तालुको सेवा गरिरहेका छन् । 

पशुपति क्षेत्रमा विभिन्न सङ्घ संस्थाले खानेपानी निःशुल्क वितरण गरेका छन् । कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार तुलनात्मक रुपमा पशुपतिनाथ सबै ढोकाबाट उल्लेख्य रुपमा भक्तजन दर्शन गर्न आइरहेका छन् । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणा मूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेन स्थान–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल–बज्र घर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

 चौथो लाम  तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै  मन्दिरका चार वटै ढोका खोलिएका थिए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको दर्शन गरी फर्कँदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्व दक्षिण, उमाकुण्ड, दक्षिणा मूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमा समेत वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्ण पात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँ बायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

बहुमूल्य गरगहना लगाएर र स–साना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शन गर्न नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । मन्दिर दर्शन गर्न कुनै पनि प्रवेशाज्ञा पत्रको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । आज व्रतालु महिलाको घुइँचो हुने भएकाले विशेष पूजा नराखिएको उहाँले बताउनुभयो । बेलुकी ०७ : ३० बजेसम्म भक्तजनलाई दर्शन गर्न मूल मन्दिर प्रवेश गराउने कोषले जनाएको छ ।

अहिलेसम्म मूल मन्दिरभित्र प्रवेश गरेर करिब दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको प्रारम्भिक अनुमान गरिएको कोषका सूचना अधिकारी भट्टले बताउनुभयो । बाहिरी भागमा पनि त्यत्तिकै सङ्ख्यामा भक्तजनको उपस्थिति छ । तीजमा ४० संस्थाले स्वयंसेवक परिचालन र सेवाका लागि अनुमति लिएको कोषले जनाएको छ । –रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button