तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा हैजाको उच्च जोखिम रहेको भन्दै सतकर्ता अपनाउन अनुरोध 

चितवन । चितवनमा हैजा सम्बन्धी सतकर्ता अपनाउन अनुरोध गरिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै चितवन हैजाको उच्च जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरेको हो ।

पर्सा र चितवन जिल्लाबिच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको सङ्क्रमण फैलिने जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । वीरगन्जमा हैजाले महामारीको रूपमा लिएपछि यसको असर चितवनमा पनि सजिलै पर्ने भएकोले पनि उच्च सतर्कता अपनाउन गरिएको हो । 

गर्मी समय, दूषित पानी, फोहोर र मानिसहरूको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनवासीलाई उच्च सतकर्ता अपनाउन कार्यालयले अनुरोध गरेको हो ।

हैजा एक सङ्क्रमण रोग हो । जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वस्थ खानपानका कारण फैलिन्छ । उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

साथै कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुन पानीले हात राम्ररी धोएर मात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्ती पकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।

हैजा लागेको व्यक्तिमा अचानक बारम्बार पातलो पखाल लाग्ने, बान्ता हुने, शरीर कमजोर हुने, खुट्टा बाउँडिने कमजोर महसुस हुने जस्ता लक्षण देखिने बताइएको छ । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । 

यसैबिच भरतपुर अस्पतालले पनि सतकर्ता अपनाउन अनुरोध गरेको छ । यस रोग छिटो फैलने भएकाले घर, छिमेक टोलमा सरसफाइमा ध्यान दिन तथा पानीको मुहान र स्रोतमा ध्यान दिन अस्पतालले अनुरोध गरेको हो । तारन्तार पातलो दिसा हुने, वान्ता हुने, शरीर कमजोर भएमा स्वास्थ्य संस्थामा जान समेत अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button