हैजाका बिरामीको उपचारमा सरकारले कुनै अभाव हुन दिँदैन : मन्त्री पौडेल
वीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै अभाव हुन नदिने गरी काम गरिरहेको बताउनुभएको छ ।

नारायणी अस्पतालको स्थलगत अनुगमन पछि आज हैजा नियन्त्रणका लागि वीरगन्जमा भइरहेका प्रयासको बारेमा आयोजित समीक्षा तथा समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हैजा सङ्क्रमण नियन्त्रण गर्न तिनै तहका सरकार एकसाथ लागिपरेको उल्लेख गर्नुभयो ।
उहाँले उपचारमा सहजता ल्याउन निजी अस्पताललाई समेत निःशुल्क परीक्षण किट उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिनुहुँदै प्रकोपको बेला सरकार मात्र होइन निजी क्षेत्र, व्यवसायी, नागरिक समाज सबैको दायित्व समान हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले वीरगन्ज महानगर, नारायणी अस्पताल, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा घरदैलो स्वास्थ्य सचेतना, किट वितरण, र पानी शुद्धीकरण कार्य जारी रहेको बताउँदै यसलाई ठुलो प्रकोपमा बदलिन नदिन सक्रिय प्रयास भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री पौडेलले बिपतको बेला सबै अस्पताल, चिकित्सक र स्वयंसेवीहरूलाई महामारीको यो घडीमा सहयोग गर्न अपिल गर्दै यो समयमा सञ्चार माध्यमको भूमिका समेत महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो ।
उहाँले सम्बन्धित निकायलाई सङ्क्रमण परीक्षण, उपचार र निःशुल्क औषधि वितरणमा कुनै पनि किसिमको लापरबाही नगर्न निर्देशन समेत दिनुभयो ।
बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारी, वीरगन्जका चिकित्सक तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
त्यसअघि मन्त्री पौडेलले वीरगन्जको नारायणी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्