भेरी अस्पतालमा अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीहरूले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन् । यसअघि उनीहरूले पैसा तिरेर सेवा लिँदै आएका थिए । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अन्तर्गत ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीहरूले निःशुल्क डायलाइसिस सेवा पाउने भएका हुन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डायलाइसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठुलो राहत मिल्ने देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले पर्सि बुधवारबाट यी सेवा सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इन्जुरी, हेड इन्जुरी र मुटुका बिरामीहरूले विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए ।
यस्तै भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ । सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरूले भेरी अस्पतालबाटै ७ लाख रुपैयाँ पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि ४ लाख, औषधि खर्चबापत २ लाख र अहिले १ लाख थप गरेसँगै उनीहरूले ७ लाख पाउने भएका हुन् ।
महाशाखाले त्यस बारेमा भेरी अस्पतालको अध्ययन प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरिसकेको छ । गएको साउन दोस्रो साता वीर अस्पतालका युरो विभाग प्रमुख समेत रहनुभएका प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट डा.रविन बस्नेत नेतृत्वको टिमले अध्ययन गरेको थियो । मानव अङ्ग प्रत्यारोपण केन्द्रसँगको सम्झौतामा मिर्गौला प्रत्यारोपण विज्ञ डा।पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भेरी अस्पतालमा यसअघि नै मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।
तर, भेरी अस्पताल सूचीकृत नभएकाले बिरामीहरूको भेरी अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिए पनि सेवा पाउनबाट भने वञ्चित थिए । यसअघि मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले निःशुल्क सेवा प्राप्त गरे पनि सबै खर्च भेरी अस्पताल आफैले व्यहोरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्