राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किनुभएको थियो ।

विपिनका आमा र बहिनीले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनुभयो । उहाँहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गर्नुभयो ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्