तपाईँ सुन्दै हुनुहुन्छः

हैजाको सङ्क्रमण फैलिएको घटनाप्रति सरकार चिन्तित: मन्त्री यादव

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा सुख्खा खडेरी सँगै फेरी हैजाको सङ्क्रमण फैलिएको घटनाले सरकारलाई चिन्तित बनाएको बताउनुभएको छ । 

जनता समाजवादी पार्टीद्वारा आज वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हैजा बाट प्रभावित नागरिकलाई उद्धार गर्न पार्टी कार्यकर्ताहरूलाई आजैबाट खट्न निर्देशन दिनुभयो । 

उहाँले बिपतको बेला जनताको साथमा सरकार रहेको बताउँदै हैजाको सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरू परिचालन गर्ने र आफूले यस सम्बन्धमा प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सँग समन्वय गरी स्वास्थ्य कर्मी सहितको टोली वीरगन्ज पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो कार्यक्रममा पर्साको बहुदरमाई नगरपालिका निवासी राम विजय यादवको नेतृत्वमा दर्जनौँ नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए । 

यसैगरी आजै खानेपानी मन्त्री यादवले वीरगन्जमा समाजवादी ट्रेड युनियन महासङ्घ अन्तर्गत रहेको समाजवादी सौन्दर्यकर्मी सङ्घ केन्द्रीय समितिको घोषणा तथा तीज विशेष कार्यक्रमको एक समारोहबिच उद्घाटन गर्नुभएको छ । 

सो अवसरमा समाजवादी सौन्दर्यकर्मी सङ्घकी केन्द्रीय अध्यक्ष रेणु कुमारी यादव (रानी यादव) को अध्यक्षतामा केन्द्रीय समिति घोषणा समेत गरिएको छ । 

समाजवादी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन लम्सालको अध्यक्षता आयोजित कार्यक्रममा सौन्दर्यकर्मी सङ्घका पदाधिकारी सहित सबै महिला दिदीबहिनीहरूलाई तीजको व्रत धार्मिक आस्था सहित स्वास्थ्यलाई ध्यानमा राखेर मनाउन मन्त्री यादवले आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button