तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एकै दिन ७२८ युनिट रगत सङ्कलन 

चितवन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७२८ युनिट रगत सङ्कलन भएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्ननगरमा २२० र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नारायणगढमा ५०८ गरी ७२८ युनिट रगत सङ्कलन भएको हो । विश्व एकता र भातृत्वका लागि बृहत् रक्तदान भन्ने नाराका साथ ब्रम्हकुमारीज संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाश मणिजीको १८औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी प्रमुख शर्मिला आचार्यले जानकारी दिनुभयो ।

नारायणगढमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल र रत्ननगरमा मेयर प्रह्लाद सापकोटाले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरेको रक्तदान कार्यक्रममा उत्साहका साथ सहभागी भएर नारायणगढमा मात्र ५०८ जनाले रक्तदान गरेको सेवा केन्द्र नारायणगढकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो  ।

प्रकाश मणिजीको १८औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल–भारतका सयौँ स्थानमा भदौ ६ देखि ९ सम्म अभियानका रूपमा रक्तदान कार्यक्रम सुरु गरेको हो । चितवन सहित काठमाडौँ उपत्यका तथा देशका अन्य सहरहरूमा गरी शुक्रवार एकै दिन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ५ हजार ५७ युनिट रगत सङ्कलन गरेर कीर्तिमानी कायम गरेको छ ।

काठमाडौँ क्षेत्रमा एक हजार ७४५, विराटनगर क्षेत्रमा एक हजार ३०२, नेपालगन्ज क्षेत्रमा २५६, वीरगन्ज क्षेत्रमा २२०, पोखरा क्षेत्रमा १४९, दाङ क्षेत्रमा १३७, बुटवल क्षेत्रमा १२१, हेटौँडा क्षेत्रमा ११३, जनकपुर क्षेत्रमा १००, भैरहवा क्षेत्रमा ६७, राजविराज क्षेत्रमा २५ र चितवनसँग जोडिएको धादिङमा ८४ युनिट रगत सङ्कलन भएको रत्ननगर सेवा केन्द्र प्रमुख आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button