पर्सामा झाडापखालाबाट ३ जनाको मृत्यु
'१० जनामा हैजाको संक्रमण पुष्टि'
वीरगंज । झाडा पखाला सहित वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र एक किशोरी सहित तीन जनाको मृत्यु भएको छ ।
झाडा पखाला र वान्ताबाट पीडित पर्साको पोखरिया नगरपालिका वडा नम्बर –९ निवासी १९ वर्षीया युवतीको वीरगंज हेल्थ केयर अस्पतालमा गएराति उपचारको क्रममा मृत्यु भएको छ भने वीरगन्ज महानगरपालिका वडा नम्बर –१६ नगवा निवासी ३७ वर्षीय पुरुषको नारायणी अस्पतालमा र वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी २२ वर्षीय युवाको तराई अस्पतालमा मृत्यु भएको छ ।
वीरगंजमा झाडा पखालाको प्रकोप फैलिँदै गएपछि बिरामीहरूको दिशा परीक्षण गर्दा उनीहरूमा हैजा (कोलेरा) को जीवाणु भेटिएको र हालसम्म वीरगन्जमा भएका झाडा पखालाका बिरामीहरू मध्ये १० जनामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय वीरगंजका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।

नारायणी अस्पताल वीरगंजका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार यस अस्पतालमा उपचाररत झाडापखालाका १५ जना बिरामी मध्ये हैजाका शङ्कास्पद ८ जना बिरामीको दिशा परीक्षण गर्दा आज ५ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
उहाँले हैजा पुष्टि भएका सबै वीरगंज महानगरपालिका वडा नम्बर-१२ मुरलीका बासिन्दा रहेको जानकारी दिनुभयो ।
डाक्टर सिंहले झाडा पखाला र बान्ताबाट शुक्रबार साँझ उपचारका लागि नगवाबाट आएका एक युवाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानकारी समेत दिनुभयो ।
एकै दिनको झाडा पखालाबाट बिरामीको मृत्यु हुनु अस्वाभाविक भएकोले अन्य बिरामीको समेत दिशा परीक्षणमा अस्पताल लागेको डा. सिंहले बताउनुभयो ।
शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएसँगै वीरगजमा हैजा संक्रमित बिरामीको सङ्ख्या १० पुगेको छ ।
यसैबिच बीरगंज हेल्थ केयर अस्पतालमा उपचाररत थप २ जनामा पनि शनिबार हैजा पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । वडा नम्बर-११ र १३ का दुई जनामा हैजा पुष्टि भएको उहाँले बताउनुभयो ।
यसअघि शुक्रबार वीरगन्जकै तराई हस्पिटलमा उपचाररत ३० जना बिरामीको दिसा परीक्षण गर्दा तीमध्ये ३ जनामा हैजा पुष्टि भएको थियो ।
हाल झाडा पखाला र वान्ताबाट पीडित २५ भन्दा बढी बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् । शय्या अभावका कारण नयाँ आउने बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपरेको नारायणी अस्पतालका प्रवक्ता डा. सिंहले जानकारी दिनुभयो ।
बीरगंज हेल्थ केयरमा झाडा पखालाबाट प्रभावित ८ जनाको अवस्था गम्भीर रहेको र १ जना किशोरीको भने अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिनुभयो ।
पछिल्लो १० दिनयता पोखरिया र वीरगन्जका विभिन्न वडाबाट झाडा पखालाका गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना हुँदै आएको अन्सारीले बताउनुभयो ।
पर्सा जिल्लामा झाडा पखालाका बिरामी बढ्दै गएपछि आम सर्वसाधारण त्रसित भएका छन् । यसलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले पहल थालेको छ । शुक्रबार रातिदेखि नै मुर्ली र नगवामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समेत सहयोग गरिरहेको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
परिचालित टोलीले शुक्रबार देखिनै मुर्ली टोल लगायत झाडापखालाबाट प्रभावित बिरामीहरूको घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
पानीबाट फैलिने हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन तथा सुरक्षित पानी प्रयोग गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । झाडा पखाला वा वान्ता भएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्तै जान र बिरामीलाई जीवनजल तथा झोलिला पदार्थ बढीभन्दा बढी खान-खुवाउन समेत सुझाव दिएका छन् ।
पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेशी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गरेको जन स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्