प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयकमाथिको छलफलका क्रममा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकारले विधेयक अगाडि बढाएको बताउनुभयो ।
यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ सम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश भएको छ ।
बैठकमा प्रतिवेदन पेश गर्नुहुँदै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले विधेयकमा भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई व्यवस्थित गर्न आवश्यक कानुनी व्यवस्थाका गरिएको बताउनुभयो ।
यस्तै विधेयकमा प्रचलित कानुनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीले हदभित्रको जग्गा घडेरीका रूपमा वा घर तथा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्ने व्यवस्था रहेको समेत समितिका सभापति थापाले सदनलाई जानकारी गराउनुभयो ।
यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन पेश गर्नुहुँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरोकारवालाहरूको माग र सरकारले शिक्षकहरूसँग गरेको सहमतिमा समेतका आधारमा प्रतिवेदन तयार पारिएको बताउनुभयो ।
शिक्षा समितिका सभापति थापाले विधेयकमा विद्यालय शिक्षामा नवीनता दिने, शिक्षाको गुणस्तर कायम गर्ने तथा शिक्षा पाउने अवसरबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने कुरालाई जोड दिइएको धारणा राख्नुभयो ।
यस्तै प्रतिनिधि सभाको आजको बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ र राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ १३ गते शुक्रवार दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्