सल्यानमा मिचाहा वनस्पति नियन्त्रण अभियान सुरु
सल्यान। वन र खेतियोग्य जमिन ओगट्दै फैलिएको मिचाहा प्रजातिका वनस्पति विस्थापन र व्यवस्थापनका लागि सल्यानमा अभियान सुरु गरिएको छ।

वनस्पति अनुसन्धान केन्द्र सल्यान, जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयको संयोजनमा जिल्लाभर फैलिएका काँडेवनमारा, कालो वनमारा, गन्धे झार, पटपटे, पाति झारसहितका दर्जनभन्दा बढी मिचाहा प्रजाति हटाउने कार्य थालिएको हो।
वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकका अनुसार यस्ता प्रजातिले रैथाने वनस्पति विस्थापित गर्दै जैविक विविधता नष्ट गर्ने खतरा बढाएका छन्। खेतबारीदेखि घरआँगनसम्म फैलिएका मिचाहा झारले माटो, उत्पादन र पारिस्थितिक प्रणालीमा नकारात्मक असर गरेको उहाँले बताउनुभयाे।
कपुरकोट गाउँपालिका–३ मुलपानीकी किसान मिनकुमारी बुढाथोकीले मिचाहा झारका कारण तरकारी उत्पादन घट्दै गएको र चौपायाले खाने घाँस पनि हराउँदै गएको बताइन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले चालु आर्थिक वर्षलाई ‘हरित वर्ष’ घोषणा गरी मिचाहा प्रजातिको स्थानमा बहुउपयोगी वनस्पति रोप्ने योजना अघि सारिएको जानकारी दिनुभयाे।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले केही मिचाहा वनस्पति जैविक मलको रूपमा प्रयोग गर्न सकिने भएकाले व्यवस्थापन गरिने र अन्यलाई विस्थापन गरी जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने कार्य भइरहेको बताउनुभयाे।
प्रतिक्रिया राख्नुहोस्