तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भूमि लिपुलेकमा भारत–चीन सम्झौता अस्वीकार्य भन्दै सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपालको सहमतिबिना भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा सीमा व्यापार गर्नेगरी भएको सम्झौता अस्वीकार्य भएको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको भन्दै सांसदहरुले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले केही दिन अगाडी चीनबाट आएको भीषण बाढीले रसुवागढीमा क्षतीभएको र सीमा क्षेत्रमा रहेका तालहरू जोखिममा रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै नेपाल र चीनबिच कूटनीतिक पहल मार्फत समयमा जोखिम न्यूनीकरणको पहल गर्न माग गर्नुभयो । 

सांसदहरु रामहरि खतिवडा, मेटमणि चौधरी, प्रभु शाह, भगवती चौधरी, अनिसा नेपालीलगायतले बैठकको आकस्मिक समयमा नेपाली भूमीमा दुई छिमेकी मुलुकले गरेको सहमतिलाई अस्वीकार गर्दै समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले लम्पि स्किन रोगबाट पशु चौपाया सङ्क्रमित हुने र मृत्यु हुने क्रम बढेको तथा यसले महामारीको रूप लिन लागेको भन्दै आवश्यक भ्याक्सिन लगायतका उपचारको व्यवस्था गर्न माग गनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सदन चलिरहेको र सदनबाट आर्थिक विधेयक आएको एक महिना बित्दै गर्दा पहिलो चौमासिकमा नै सरकारले करको दर हेरफेर गरेको भन्दै त्यसको विरोध गर्नुभयो । 

नेता पुनले सदन चलिरहेको समयमा सदनलाई छलेर सरकारले किन करको दर हेरफेर गर्न खोजेको हो त्यसबारे सदनमा स्पष्ट पार्न सरकारसँग माग गनुभयो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगीले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेको भन्दै आपत्ति जनाउनुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button