पर्सामा १४ लाखभन्दा बढी हुन्डी रकमसहित दुई जना पक्राउ
वीरगञ्ज। पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडानम्बर–२ का संजयकुमार साह र बाराका शनिकुमार ठाकुर रहेका छन् ।
विशेष सूचनाका आधारमा वीरगन्जको इदगाहचोक स्थित सडकखण्डमा चेक जाँच गर्दा उनीहरूले प्रयोग गरेको मोटरसाइकलको फल्स सिलिङबाट १४ लाख १३ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो । पक्राउ परेका दुवैले उक्त रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बरामद रकममध्ये १० लाख रुपैयाँ हजार दरका नोट र ४ लाख १३ हजार रुपैयाँ पाँच सय दरका नोट रहेका छन् । साथै, प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई हुन्डी कारोबारसँग जोडेर अनुसन्धान अघि बढाइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्