तपाईँ सुन्दै हुनुहुन्छः

कागुनो-झुमरोको माग बढ्दो

बाजुरा । बाजुरा सहित सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली क्षेत्रमा पाइने परम्परागत अन्नबाली कागुनो र झुमरो पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ। औषधीय गुणयुक्त यी बालीहरू स्वास्थ्यका दृष्टिले फाइदाजनक मानिन्छन्।

विशेषगरी बालबालिका र वृद्ध वृद्धाका लागि निकै लाभदायी मानिँदै आएको भए पनि खेती गर्ने परम्परा भने हराउँदै गएको छ।

नेपालका पुराना अन्नबालीमध्ये एक मानिने कागुनो र झुमरो परापूर्वकालदेखि नै खेती हुँदै आएको इतिहास छ। तर पछिल्लो समय यी बाली बाजुरामा व्यावसायिक रूपमा भने प्रायः कुनै पनि कृषकले लगाउने गरेका छैनन्। खेतका कान्ला वा सानो क्षेत्रमै सीमित राखेर मात्र खेती गरिँदै आएको देखिन्छ।

अर्गानिक र रैथाने खाद्य बाली भएकाले यसको बजारमा माग निरन्तर बढिरहेको भए पनि उत्पादन भने घट्दो क्रममा रहेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार, “कागुनो र झुमरो जस्ता रैथाने बाली अत्यन्त उपयोगी र पोषक भए पनि यसको महत्वबारे कृषकले पर्याप्त जानकारी नपाएकै कारण खेतीमा कमी आएको हो” ।

 कृषि ज्ञान केन्द्र बाजुराले यस्ता लोपोन्मुख बालीहरूको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तर व्यवहारमा कृषकले यसको मूल्य र महत्व बुझ्न नसक्दा चुनौती कायम रहेको कार्यालय प्रमुख सहानीको भनाइ छ ।

बडिमालिका नगरपालिका वडा नम्बर-५का स्थानीय कृषक बिप्पन ल्वारका अनुसार कागुनो र झुमरो बाली गोडमेल गर्न गाह्रो हुने, प्रसोधन गर्न समय लाग्ने र यसको महत्त्व बारे जानकारी नहुनुले यसको व्यावसायिक खेतीमा कमी आएको छ।

कागुनो-झुमरो लगायत रैथाने बाली संरक्षण र व्यावसायिक उत्पादनमा जोड दिन सके, स्वस्थ जीवनका लागि मात्र नभई ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन पनि ठूलो टेवा पुग्ने बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button