‘डडेल्धुरामा एमडीएमएस पढाइ माघदेखि सुरु हुने’
डडेल्धुरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा माघदेखि एमडीएमएस (विशेषज्ञता अध्ययन) सुरु हुने र आगामी असारदेखि ५० जना एमबिबिएस विद्यार्थी भर्ना हुने गरि तयारी भइरहेको बताउनुभएको छ ।

बिहीबार अस्पतालको अनुगमन तथा हेमोडायलाइसिस सेवा शुभारम्भ गर्नुहुँदै मन्त्री पौडेलले डडेल्धुरा अस्पताललाई आगामी पाँच वर्षभित्र पाँच सय शय्याको पूर्ण सङ्घीय अस्पतालका रूपमा विकास गर्ने घोषणा गर्नुभयो।
सङ्घीय अस्पतालको मापदण्डअनुसार अब कुनै पनि अस्पताल पाँच सय शय्याभन्दा कम नहुने उल्लेख गर्नुहुँदै उहाँले डडेल्धुरालाई नमुना स्वास्थ्य संस्थाका रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो।
‘यहाँ निजी क्षेत्रको लगानी सम्भव छैन। जनसङ्ख्या कम भएकाले सरकारी उपस्थिति अपरिहार्य हुन्छ। चिकित्सकलाई टिकाउने वातावरण बनाउन अस्पताल, पालिका र प्रदेशले हातेमालो गर्नुपर्छ,’ मन्त्री पौडेलले स्पष्ट पार्नुभयो।
स्वास्थ्य बिमासँग विपन्न सुविधा जोडिएको जानकारी दिँदै उहाँले अब बिमा गरेका बिरामीले मात्रै विपन्न सुविधा पाउने व्यवस्था भएको स्पष्ट पार्नुभयो । साथै आधारभूत अस्पतालमा केन्द्रबाटै चिकित्सक तोकी पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
‘उपकरण, पूर्वाधार र जनशक्ति व्यवस्थापनमा सङ्घीय मन्त्रालयले सहयोग गर्छ । तर चिकित्सकलाई टिकाउने जिम्मेवारी स्थानीय तह र प्रदेशको मिलीजुली प्रयासबाट मात्र सम्भव हुन्छ,’ मन्त्रीले जोड दिनुभयो ।
अस्पतालकी मेसु डा. सुधा देवकोटाले डडेलधुरावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताउँदै दक्ष जनशक्ति, आधुनिक उपकरण र विशेष सेवाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अस्पताल विकास समिति अध्यक्ष करुणाकार ओझाले अस्पतालका चुनौती समाधानका लागि सङ्घीय सरकारलाई तत्काल पहल गर्न आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्