तपाईँ सुन्दै हुनुहुन्छः

बडका अत्तवारी पर्वको अवसरमा लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले बडका अत्तवारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारले थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा बडका अत्तवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायमा महत्वका साथ मनाइने बडका अत्तवारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ। यो पर्वमा थारु समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ। यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ। थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन्। पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ। कुशे औँसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button