तपाईँ सुन्दै हुनुहुन्छः

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको समावेदनशीलतालाई नजरअन्दाज गरेको बताउनुभएको छ । 

बर्दिबासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो, “हामीले तथ्य र सत्यमा टेकेर महाकाली वारिको भूभाग समेटिएको नक्सा बनाएका हौँ, यो सन् १८१६ को सुगौली सन्धि अनुरूप छ ।” 

दुवै छिमेकी मित्रराष्ट्रले पछिल्लो सहमतिमा नेपाललाई नखोजे पनि चीन र भारतमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमण हाम्रो कारणले नरोकिने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 

“हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ, यस्तो संवादको अवसर सद्भावना भ्रमणमै पाइने हो”, उहाँले भन्नुभयो, “तसर्थ नेपालको तर्फबाट यो भ्रमण रोक्ने त कुरै छैन ।” लिपुलेक प्रकरणमा नेपालको परराष्ट्र मन्त्रालयले चीन र भारतलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति स्पष्ट गरीसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसमा अब दुवै मित्रराष्ट्रले तार्किक निष्कर्ष दिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धि नै आफ्नो दलको मुख्य ध्येय भएको बताउनुभयो । अहिले पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको उहाँले पार्नुभयो । बर्दिबासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेका पार्टी गतिविधि यसै ध्येयमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । 

“हामी पार्टीको दोस्रो विधान महाधिवेशनको तयारीमा छौँ, यस महाधिवेशनबाट नीति र विधिका माध्यमले आफ्नो दललाई बलियो राष्ट्रिय शक्ति बनाउने सन्देश प्रवाह हुनेछ ।” एमालेले नै मुलुकमा केही गर्छ भन्ने आमजनतामा बनेको भरोसालाई आगामी निर्वाचनमा बहुमतको सरकार बनाएर चरितार्थ गरिने उहाँले बताउनुभयो ।

अहिले सरकार बनेदेखि आर्थिक सुधारका सूचक देखिएको उल्लेख गर्दै महासचिव पोखरेलले पछिल्लो एक वर्षको अवधिमा राजस्व वृद्धि, निर्यात वृद्धि र पुँजीगत खर्च वृद्धि भएर आर्थिक सुधार बढेको बताउनुभयो । “अब सङ्घीयता कार्यान्वयनका दिशामा बन्न बाँकी कानुनमा सरकार केन्द्रित हुनपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच वर्तमान सरकार गठनका बेला बनेको संविधान संशोधनको सहमति कार्यान्वयनमा जाने महासचिव पोखरेलको भनाइ थियो । “अहिले राष्ट्रियसभामा सत्ता साझेदार दलको बलियो उपस्थिति छैन, अब यसै वर्षभित्र हुने राष्ट्रियसभा निर्वाचनमा बलियो उपस्थिति बन्ने अवस्था छ । त्यस लगत्तै संविधान संशोधनको विषयमा प्रवेश गरिने छ”, पत्रकारहरूको जिज्ञासामा उहाँले स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेल आज आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, साङ्गठनिक र विधान संशोधनबारे मधेस प्रदेशका अगुवा कार्यकर्ताबीचको छलफलमा सरिक हुन बर्दिबास आउनुभएको हो । 

पत्रकार सम्मेलनमा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य लिला नाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button