तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बैङ्कद्वारा मधेशमा २५ कृषि तथा पशुपक्षी केन्द्र निर्माण 

जनकपुरधाम । विश्व बैङ्कको ऋण सहयोगमा मधेश प्रदेशका २५ वटा पालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपक्षी केन्द्र भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले मधेश प्रदेशका १ सय ३६ पालिका मध्ये २५ वटामा ३ करोडको दरमा करिब ७५ करोडको लागतमा केन्द्रको निर्माणले तीव्रता पाएको हो । 

कृषिको माटो परीक्षणदेखि रोगको अनुसन्धान गर्ने गरी अत्याधुनिक ल्याब तथा पशुमा लाग्ने विभिन्न रोगको परीक्षण देखि गोवर तथा दुधको परीक्षणका लागि अत्याधुनिक मेसिन सहितको ल्याब स्थापना गरेर निर्माण भइरहेको २५ भवन मध्ये हालसम्म १४ वटाको निर्माण भइसकेको परियोजनाका कार्यालय प्रमुख राजेश साहले जानकारी दिनु भयो । सबै भवनको डिजाइन समान हुनुका साथै बजेट ३–५ करोडको दरले परियोजनाले छुट्याएको छ ।  

दुई तल्ले भवनमा कृषि तथा पशुको लागि छुट्टा छुट्टै कार्यकक्ष तथा प्रयोगशाला सहितको अत्याधुनिक पूर्वाधारहरूको निर्माण गरिइएको छ । यसका साथै सोही भवनमा सुपथ मूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचार सहितको औषधी बिक्री कक्षका लागि दुई वटा सर्टर रहेको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १७ तेतरीयामा निर्माण भएको कृषि तथा पशुपक्षी केन्द्रको दुई तल्ले अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि रिड परियोजनाले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहलाई उक्त भवन आज हस्तान्तरण गरेको छ । परियोजनाका कार्यालय प्रमुख राजेश कुमार साहले केन्द्र हस्तान्तरण गर्नु भएको छ । 

भ्याट सहित दुई करोड २५ लाख ८९ हजार ९७ रुपैयाँ २४ पैसामा निर्माण भएको सो भवन तथा प्रयोग शालामा चाहिने किट सहितका सम्पूर्ण सामाग्रीहरू एक वर्षका लागि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले नै प्रदान गरेको प्रमुख साहले जानकारी दिनु भयो । भवन अपाङ्ग तथा महिलामैत्री रहेको छ । 

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले कृषि तथा पशुपक्षी केन्द्रको सञ्चालन भोलिबाट नै हुने गरी कृषि तथा पशुका कर्मचारीहरूलाई खटाइएको जानकारी दिनु भयो । उहाँले यस केन्द्रबाट पालिकाका पूर्वी क्षेत्रका ग्रामीण वडाका जनता सहित आसपासका अन्य कृषकहरूले लाभ पाउने विश्वास व्यक्त गर्नु भयो । यसले पशु तथा कृषिका विषयमा केही जान्नका लागि जिल्ला आउनु पर्ने बाध्यताको अन्त्य भएको छ । 

सो कार्यक्रममा वडा नंं १७ का वडाध्यक्ष रामबृक्ष यादव, परियोजनाका व्यवस्थापन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. नन्दन कुमार यादव तथा जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादव सहितका वक्ताहरूले जिल्लामा रहेका सबै सेवा तथा सुविधाहरू वडाबाट नै प्रवाह हुने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button