अबको राजनीति सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रित हुनुपर्छ : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको राजनीति सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीको दोस्रो सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले आरक्षण मात्रमा सीमित नभई योजनासहित नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिनुभयो।
जनसङ्गठनमा युवाको उपस्थिति न्यून भएको उल्लेख गर्दै नेकपा एमालेका उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले महिलालाई अध्ययन, योजना र सुशासनमा पुरुषभन्दा उत्कृष्ट देखाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
मन्त्री गुरुङले आउँदो आमनिर्वाचनमा एमालेलाई बहुमत दिलाउन प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याउने लक्ष्य राखेको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा ६० सिटमध्ये ३५ सिट जित्ने दाबी गर्नुहुँदै उहाँले काँग्रेससँग सरकारमा गठबन्धन भए पनि प्रतिस्पर्धा यथावत् रहेको बताउनुभयो।
कार्यक्रममा एमाले जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष टुका हमाल, गण्डकी अध्यक्ष हिराकुमारी गिरीलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्