तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश प्रमुख जोशीद्वारा जीवनाशक विषादी व्यवस्थापन विधेयक प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । 

आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । 

कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै अब विषादी बेच्न र छर्कन इजाजत लिनुपर्ने भएको छ । गत वैशाखमा प्रदेश सरकारले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जन सहितको विधेयक स्वीकृति भएर आज प्रमाणीकरणसँगै खेतीपातीमा प्रयोग हुने विषादीको बिक्री, भण्डारण, प्रयोग, अनुगमन जस्ता पक्षलाई प्रभावकारी बनाउने सरकारको उद्देश्य रहेको छ । 

अब इजाजत पत्र लिने व्यक्ति, संस्था वा निकायका सञ्चालक नेपाली नागरिक र कम्तीमा जेटिए उत्तीर्ण गरेको हुनुपर्ने छ । खुद्रा विषादी बिक्रेताले सुरक्षित भण्डारण, प्रयोग र बिक्रीसम्बन्धी तालिम पास गरेको हुनुपर्ने व्यवस्था छ । 

विषादी सार्वजनिक स्थलमा भण्डारण गर्न पाइने छैन । आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सोसरह योग्यता भएकालाई अधिकृत स्तरको निरीक्षक नियुक्त गर्ने सक्ने प्रावधान यसमा रहेको छ । विधेयकले इजाजत पत्र नलिएमा, पञ्जीकरण नगरेमा, यो ऐनको पालना नगरेमा दण्ड, सजायको व्यवस्था समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button