पोखरा अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी

कास्की । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको छ ।
सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने तयारी अगाडी बढाएको छ ।
प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको हो । त्यसका औपचारिक रूपमा प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षीय छलफलमा भइरहेकोले छिट्टै उडानको तालिका आउने प्राधिकरणले जानकारी दिएको छ ।
सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलबाट केही समय पहिले हप्ता एउटा उडान सिचुवान र पोखरा गरेको थियो । अहिले हिमालयन एयरलाइन्सले पोखरा लासा उठान हप्ता एउटा गर्दै आएको छ ।
विदेशी वायुसेवालाई यी दुई विमानस्थलमा आकर्षित गर्न सरकारले आकर्षक छुट तथा सहुलियत प्याकेजलाई निरन्तरता दिएको छ। २०८१ साउन २८ देखि लागू भएको कार्य योजनाअनुसार अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरूका लागि ल्याण्डिङ, पार्किङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। यसका साथै, प्रति यात्रु लाग्ने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क र १ हजार रुपैयाँको पर्यटन सेवा शुल्क पनि छुट दिइएको छ।
त्यति मात्र नभई, नेपाल वायुसेवा निगमले प्रदान गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था छ भने हवाई इन्धनको मूल्य पनि काठमाडौँको तुलनामा प्रतिलिटर करिब २०० डलरसम्म सस्तो पारिएको छ।
प्रतिक्रिया राख्नुहोस्